Logo

सांकेतिक तस्वीर

३ साउन, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव बनेसँगै मुलुकभरको जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग आसपास (पश्चिममा सरदर स्थानभन्दा केही माथि) र पूर्वमा सरदर स्थान नजिकै अवस्थित रहेकाले देशभर वर्षा भईरहेको छ । हाल देशका अधिकांश भूभागमा पूर्ण बदली (बादल लाग्ने) रही कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो र राति चारवटा प्रदेशमा ‘अति भारी’ वर्षाको प्रक्षेपण गर्दै ती क्षेत्रमा बाढी तथा पहिरोको उच्च जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आम सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ।

आज दिउँसो देशभरको मौसम आकाश बादलले ढाकिनेछ। हिमाली, पहाडी र तराईका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभाग, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू एवं मधेस प्रदेशको तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ। यसै गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भने ‘अति भारी’ वर्षाको समेत सम्भावना औंल्याइएको छ।

मौसमको यो उग्र रूप आज राति पनि कायम रहने देखिएको छ। राति देशभर अधिकांश बादल लाग्ने र हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनेछ। तर, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान छ।

रातिको समयमा कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा पुनः ‘अति भारी’ वर्षाको सम्भावना रहेकाले रात्रिकालीन समयमा तटीय र भिरालो क्षेत्रका बासिन्दा थप सजग हुनुपर्ने देखिन्छ। यसै गरी मधेस र बागमती प्रदेशका पहाडी तथा तराई भूभागमा पनि राति भारी वर्षाको चेतावनी दिइएको छ। लगातारको वर्षाले साना–ठुला नदीमा आकस्मिक बाढी आउने, सडक यातायात अवरुद्ध हुने र ग्रामीण भेगमा पहिरो जान सक्ने भएकाले महाशाखाले २४सै घण्टा सचेत रहन मार्गनिर्देशन गरेको छ।


सम्बन्धित समाचार