३ साउन, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिन–नारायणगढ सडकखण्डमा आइतबार बिहान तीन सवारीसाधन एकआपसमा ठोक्किँदा २५/२६ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा दुवै बसमा सवार यात्रुमध्ये २५/२६ जना घाइते भएका छन्। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुरस्थित विभिन्न अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरूको परिचय, स्वास्थ्य अवस्था तथा दुर्घटनाको कारणबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडकमा सवारी आवागमन प्रभावित भए पनि प्रहरीको समन्वयमा सडक सञ्चालनमा ल्याउने प्रयास गरिएको थियो।
बर्खायाम सुरु भएसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रा थप चुनौतीपूर्ण बन्दै गएको छ। लगातारको वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्ने, ढुंगा झर्ने तथा सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ। यससँगै चिप्लो सडक र कमजोर दृश्यताका कारण सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ।
यही कारण जिल्ला प्रशासन, प्रहरी तथा सडकसँग सम्बन्धित निकायले अत्यावश्यक अवस्थाबाहेक वर्षायाममा यात्रा गर्दा विशेष सावधानी अपनाउन, सवारी साधनको गति नियन्त्रणमा राख्न र मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गर्दै आएका छन्।




















