३ साउन, काठमाडौं । साउन २ गते साँझदेखि परेको अविरल वर्षाका कारण देशभर विपद्का घटनाहरू बढेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै बाढी, पहिरो, चट्याङ र आगलागीलगायतका ५८ वटा विपद्का घटनाहरू भएका छन् । यी घटनाहरूमा परी ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। साथै, विपद्मा परेका १ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।
मृत्यु हुनेहरूमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ की ४३ वर्षीया शान्ता राई र कोपिलासगढी गाउँपालिका–४ का ७१ वर्षीय पर्शुराम परियार रहेका छन्, उनीहरूको बाढीमा परेर ज्यान गएको हो। यसैगरी दोलखाको भीमेश्वर नगरपालिका–२ मा सर्पदंशका कारण ५५ वर्षीय भक्तबहादुर थामीको मृत्यु भएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले जानकारी दिएका छन् । विपद्का यी घटनाहरूबाट करिब २३ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक आकलन छ ।
यस वर्षको वैशाख १ गतेयता विपद्जन्य घटनाहरूले ठूलो जनधनको क्षति पुर्याएको छ। पछिल्लो तीन महिनाको अवधिमा देशभर ३ हजार ४६३ वटा विपद्का घटनाहरू दर्ता भएका छन्, जसमा १६८ जनाले ज्यान गुमाएका छन् भने ९९४ जना घाइते भएका छन् ।
साथै, सोही अवधिमा २ जना बेपत्ता रहेको र १ हजार १५ वटा चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ। निरन्तरको वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिम रहेकाले स्थानीय प्रशासनले तटीय तथा जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।




















