३ साउन, काठमाडौं । मुलुकका बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप सङ्कलनको मात्रा उत्साहजनक रूपमा बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.३ प्रतिशतले वृद्धि भई ८० खर्ब १२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा मात्रै निक्षेपमा ७ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ थपिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ८.० प्रतिशतले मात्र बढेको थियो, जसले यस वर्ष बैंकिङ प्रणालीमा तरलताको अवस्था केही सहज बनेको सङ्केत गर्छ ।
निक्षेपको संरचनागत तथ्याङ्कलाई हेर्दा २०८३ जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६।९ प्रतिशत, ४६.६ प्रतिशत र ३७।३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.७ प्रतिशत, ३६.२ प्रतिशत र ५०.२ प्रतिशत रहेको थियो । यसका साथै, कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३३.७ प्रतिशत रहेको छ, जुन गत वर्षको सोही अवधिमा ३५.५ प्रतिशत थियो ।
वार्षिक विन्दुगत आधारमा २०८३ जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप कुल १५.० प्रतिशतले बढेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेपको यो वृद्धिले वित्तीय संस्थाहरूको स्रोत परिचालन क्षमतामा विस्तार भएको देखाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय निक्षेप सङ्कलनलाई प्राथमिकतामा राखेका कारण कर्जा प्रवाहका लागि आवश्यक स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ ।




















