Logo

३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जापान भ्रमणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूप्रति कडा आक्रोश व्यक्त गरेका छन् ।

आफूविरुद्ध सामाजिक सञ्जालमा भ्रामक प्रचारबाजी र चरित्रहत्या गरिएको भन्दै शाहीले फेसबुक लाइभमार्फत आक्रामक र अमर्यादित भाषा प्रयोग गर्दै कडा जवाफ फर्काएका हुन् ।

कर्णालीमा एक युवाको निधन भएको विषयलाई लिएर संसदमा शाहीले प्रधानमन्त्री, गृहमन्त्री र रास्वपा सभापतिविरुद्ध दिएको अभिव्यक्तिपछि उनी रास्वपा समर्थकहरूको निसानामा परेका थिए । त्यसयता, उनको दुबई भ्रमणको एउटा तस्बिरलाई लिएर सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएको र ओशाकामा आफूलाई लखेटिएको भन्दै अफवाह फैलाइएको भन्दै शाही भड्किएका हुन् ।

लाइभमा उनले आफ्ना आलोचकहरूलाई ‘घण्टेका साथी’, ‘खरानी ग्याङ’, ‘सहकारी ठग’ र ‘गँजेडीहरूको ग्याङ’ जस्ता अमर्यादित शब्द प्रयोग गर्दै प्रतिवाद गरेका छन् । उनले आफूले संसदमा उठाएका प्रश्नहरूको तथ्यगत जवाफ दिन चुनौती दिँदै आधारहीन आरोप र साइबर बुलिङ बन्द गर्न चेतावनी दिएका छन् ।

रास्वपा र राप्रपाको प्रतिक्रिया

शाहीको उक्त अभिव्यक्तिलाई लिएर रास्वपाका सांसद राजु पाण्डेले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । उनले सांसदजस्तो गरिमामय पदमा बसेका व्यक्तिले पद र मर्यादाको ख्याल राख्नुपर्ने भन्दै लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न आग्रह गरेका छन् ।

अर्कोतर्फ, राप्रपाले भने शाहीको बचाउ गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रतिपक्षी सांसदहरूमाथि भइरहेको संगठित साइबर बुलिङ खेदजनक भएको बताउँदै शाही र प्रमुख सचेतक खुस्बु ओलीको प्रभावकारी भूमिकालाई निस्तेज पार्न प्रहार गरिएको जिकिर गरेका छन् ।

शाहीको स्पष्टीकरण

आक्रोशपूर्ण अभिव्यक्तिपछि शाहीले उक्त लाइभ भिडियो फेसबुकबाट हटाएका छन् । यद्यपि, भाइरल भइसकेको सो भिडियोबारे उनले आफूविरुद्ध सुनियोजित प्रहार भएपछि चुप लाग्न नसकेको बताएका छन् ।

उनले आफ्नो भाषाशैली ‘रिसको आवेगमा तलमाथि भएको’ स्वीकार गर्दै सत्य कुरा बोल्दा विवादमा तानिएको जिकिर गरेका छन् । पछि उनले सामाजिक सञ्जालमा कवितात्मक टिप्पणी गर्दै आफ्नो आक्रोश पुनः व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार