
२१ जेठ,काठमाडौं । राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन समितिको आज (बुधबार) दिउँसो २ बजे बैठक बस्दैछ । सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बस्ने बैठकले पहिलो चरणको आन्दोलनको समीक्षा गर्नुका साथै सरकारको दमनकारी नीतिलाई मध्यनजर गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्नेछ ।
समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरु बैठकमा सहभागी हुनेछन् ।
संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट राजसंस्था र सनातन हिन्दु अधिराज्यको माग गर्दै पहिलो चरणको एक हप्ता लामो आन्दोलन गरेको थियो । प्रेस विज्ञप्ति जारी गर्दै समितिले सरकारको हस्तक्षेप र दमनका बाबजुद पनि पहिलो चरणको आन्दोलन उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । विज्ञप्तिमा आन्दोलनमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरिएको छ ।