
२१ जेठ, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा नदिने अडान दोहोर्याएका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा विपक्षी दलका सांसदहरूले राजीनामा माग गरेको प्रसंग उठाएपछि जवाफमा गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमै जवाफ दिन पाउनुपर्ने माग गरे। यसका लागि उनले विपक्षी दललाई वातावरण बनाइदिन आग्रह गरेका छन्।
समितिका सदस्यहरूले भिजिट भिसा प्रकरणबारे मन्त्री लेखकको जवाफ समेत मागेका थिए। तर, मन्त्री लेखकले समितिको बैठकमा जवाफ दिँदा सबै सांसदहरूको जिज्ञासा नमेटिने भन्दै संसदमै जवाफ दिने बताए।
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यसमा गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन्।
मन्त्री लेखकले समिति बैठकमा भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरू, कर्मचारीहरू र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो। यो जिज्ञासा यो समितिका मात्रै साथीहरूलाई मात्रै भएको भए यी जवाफ दिएर जान्थेँ। यो अरू साथीहरूलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाऊँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु।’
गृहमन्त्री लेखकले आफूले संसदमा जवाफ दिँदा सबै सदस्यहरूको जिज्ञासा मेटिने बताए। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।