
२१ जेठ,काठमाडौं । प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकअघि प्रमुख राजनीतिक दलहरू संसदमा जारी अवरोध अन्त्य गर्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्। भिजिट भिसा प्रकरणलाई लिएर उत्पन्न गतिरोधले बजेटमाथिको छलफल समेत प्रभावित भएको छ।
सत्तापक्ष गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे संसदमा उठेका प्रश्नहरूको जवाफ दिन पाउनुपर्ने अडानमा छ। अर्कोतर्फ, विपक्षी दलहरू गृहमन्त्रीको राजीनामाको मागमा केही लचक देखिएका छन्, तर उनीहरूको मुख्य सर्त भने यस प्रकरणको छानबिनका लागि समिति वा आयोग गठन गरिनुपर्छ भन्ने छ।
भिजिट भिसाका नाममा विदेश जानेहरूसँग अपारदर्शी रूपमा पैसा लिने गरेको र यस्तो कार्यमा गृहमन्त्रालयकै अधिकारीहरूको संलग्नता रहेको आरोप लाग्दै आएको छ। विपक्षी दलहरूले यस विषयमा गृहमन्त्री रमेश लेखकमाथि नै नैतिक प्रश्न उठाएका छन्।
विपक्षी दलहरूले भिजिट भिसामा भइरहेको अनियमितता सरकारले स्वीकार गरी छानबिनका लागि तयार भएमा मात्र सदनको अवरोध खुल्ने बताएका छन्। तर, सत्तापक्षको तर्क छ कि गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नमा जवाफ दिएपछि मात्रै छानबिन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुन सक्छ।
यी दुई फरक मतका बीचमा सहमति जुटाउन दलहरू आन्तरिक छलफलमा छन्। सभामुख देवराज घिमिरेले पनि संसद बैठकअघि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्। यदि उक्त बैठकमा सहमति जुटेमा आजै प्रतिनिधि सभामा गृहमन्त्रीले जवाफ दिने सम्भावना छ।
संसद सचिवालयका अनुसार, गृहमन्त्रीले संसदमा बोल्नका लागि यसअघि नै समय मागिसकेका छन्। त्यसैले, दलहरूबीच सहमति भएको खण्डमा गृहमन्त्रीले संसद्मा आफ्नो भनाइ राख्न पाउनेछन्।