
२१ जेठ, काठमाडौँ । सदनमा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले आह्वान गरेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दलले सदनको अवरोध जारी राखेको छ।
सहमति जुटाउन सभामुख घिमिरेले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, बैठकमा कुनै सहमति बन्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। परियारले भने, ‘हामीले हाम्रो कुरा प्रष्ट बैठकमा राख्यौं। तर उहाँहरू टसमस हुनुभएन। कुरो मिलेन।’
आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन। हिजो पनि सहमति नहुँदा बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।
सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ। तर, विपक्षी दलले गृहमन्त्री बोल्ने भए छानबिन आयोगको कार्यक्षेत्र (टीओआर) सहित सरकार आउनुपर्ने शर्त राखेको छ। यस गतिरोधले संसदको आगामी कार्यसूची प्रभावित हुने देखिएको छ।