
२१ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका प्रतिपक्षी दलहरूसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक स्थगित भएको हो।
आज बिहान १ बजे बस्ने भनिएको बैठक सहमतिको प्रयासका लागि सवा तीन बजेसम्मका लागि सारिएको थियो। तर, सत्तापक्ष र प्रतिपक्षबीच कुनै सहमति जुट्न नसकेपछि संसद सचिवालयले बैठक स्थगित गरिएको सूचना जारी गरेको छ। यसअघि मंगलबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराईसहितका कर्मचारीहरूमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन्।
सत्तापक्षका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले गृहमन्त्री लेखकले यो प्रकरणबारे संसदमा जवाफ दिन पाउनुपर्ने अडान राखेका छन्। यता, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रतिपक्षी दलहरूले भने गतिरोध अन्त्य गर्ने हो भने गृहमन्त्रीले पहिले राजीनामा दिनुपर्ने अडान राखेका छन्। यसले संसदमा जारी गतिरोध अझै लम्बिने सङ्केत दिएको छ।