Logo

२१ जेठ, वीरगञ्ज् । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ। प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपा नेपालका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई भोलि (बिहीबार) दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन्।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभाको चौथो अधिवेशनको २२ औं बैठकमा सभामुख मण्डलले छानबिन समिति गठन गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए। उनले सभामुख मण्डललाई सम्बोधन गर्दै भने, ‘सरकारद्वारा जुन गडबडी हुन्छ, आर्थिक अनुशासनको उल्लङ्घन हुन्छ, त्यसको नियन्त्रण गर्ने काम हो सदनको।

त्यसैले सर्वदलीय सहमतिबाट संसदीय छानबिन समिति गठन गर्ने निर्णय पनि तपाईंकै अध्यक्षतामा भयो। र तपाईंले घोषणा पनि गर्नुभयो। त्यस हिसाबले नै प्रतिपक्षी दलले समितिका लागि नाम पनि दिइसकेको छ तर सत्तापक्षले दिन चाहेको छैन। यसले प्रष्ट हुन्छ सरकार सदनप्रति उत्तरदायी छैन। सरल भाषामा भन्यो भने सरकार चाहन्छ भ्रष्टाचार होस्। प्रतिपक्षको आग्रह छ, छानबिन समिति गठन होस्।’

यादवले संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अवरुद्ध गरिरहने बताए।

सभामुख मण्डलले आज करिब ३ घण्टा यो विषयमा छलफल गरे पनि निष्कर्षमा पुग्न नसकेको भन्दै औपचारिक/अनौपचारिक रूपमा बैठक बसेर यो विषयमा टुङ्गो लगाउन आजको बैठक स्थगन गरेको बताए। उनले प्रदेशसभाको बैठक भोलि जेठ २२ गते दिनको १ बजे बस्ने गरी स्थगित गरेका छन्।


सम्बन्धित समाचार