
२२ जेठ, वीरगञ्ज । मधेस प्रदेशमा हत्याको ग्राफ चिन्ताजनक रूपमा बढेको छ। विगत चार वर्षमा करिब ३८५ नागरिकले ज्यान गुमाएको डरलाग्दो तथ्यांकले प्रदेशको शान्ति सुरक्षा र नागरिकको जीवन रक्षामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। देशको संविधानले नागरिकको शान्ति, सुरक्षा र जीउ धनको रक्षाको ग्यारेन्टी गरे पनि मधेसमा श्रृङ्खलाबद्ध हत्याका घटनाहरूले आम नागरिकमा त्रास फैलाएको छ।
नागरिकको यसरी सिलसिलेवार हत्याले प्रहरीको कार्यसम्पादनमाथि मात्र प्रश्न चिन्ह खडा गरेको छैन, यो गम्भीर चिन्ताको विषय समेत बनेको छ। प्रहरीको कथित अकर्मण्यताले मधेसका घर-घरमा आँसु बगाएको स्थानीयले बताएका छन्।
केही प्रतिनिधि हत्याका घटनाहरू:
- सिरहा, लहान: मंगलबार (जेठ २१ गते) सिरहाको लहान नगरपालिका वडा नम्बर– १३ गणेशपुर निवासी ज्येष्ठ नागरिक मुसहरु यादवको कुटपिट गरी हत्या गरियो। जग्गा विवादका कारण बिना साह र उनका छोरा सुदिप साहले कुटपिट गर्दा यादवको उपचारका क्रममा सिरहास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको सिरहा प्रहरी प्रवक्ता बिरेन्द्र पासवानले बताए। प्रहरीले हत्यामा संलग्न आमा-छोरालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको छ।
- बारा (करिब ६ महिना अगाडि): गत पुस महिनाको दोस्रो साता बाराका प्रहरी भान्से राजकुमार रुम्बाको जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित सडकखण्डमा गोली हानी हत्या भयो। प्रहरी अनुसन्धानले व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण हत्या भएको देखाएको थियो। यस घटनामा राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित संलग्न व्यक्तिहरू पक्राउ परेका थिए।
- महोत्तरी (करिब ८ महिना अगाडि): गत कार्तिक १२ गते महोत्तरीको पिपरा गाउँपालिका– ७ दनौलीमा धनुषाको सहिद नगरपालिकाकी २६ वर्षीया मालती मण्डलको घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। विवाहेत्तर सम्बन्धका कारण उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यस घटनामा संलग्न मटिहानी नगरपालिका– ५ का राकेश नायक दम्पती पक्राउ परिसकेका छन्।
भयावह तथ्यांक: चार वर्षमा ३८५ हत्या
सिरहा, बारा र महोत्तरीका यी घटनाहरू त केही उदाहरण मात्र हुन्। मधेसमा यसरी हत्या हुने नागरिकको सूची लामै छ। मधेस प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्ष (आर्थिक वर्ष २०७७–०७८ देखि २०८१ सालको कार्तिक मसान्तसम्म) मात्रै ३८५ जनाको हत्या भएको छ, तीमध्ये १४२ जना महिला छन्।
- आर्थिक वर्ष २०७७–०७८: ११० जनाको हत्या
- आर्थिक वर्ष २०७८–०७९: १०६ जनाको हत्या
- आर्थिक वर्ष २०७९–०८०: ११३ जनाको हत्या
- चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्म: ५६ जनाको हत्या
प्रदेश प्रहरीको विवरण अनुसार प्रदेशका हरेक जिल्लामा हत्याका घटना शृङ्खलाबद्ध भइरहेका छन्। तर त्यसमध्ये सिरहा जिल्ला बढी हत्याको हुने जिल्लाको ‘रेड जोन’ मा छ। मधेस प्रहरीको आँकडा अनुसार चार वर्षको अवधिमा सिरहामा मात्रै ५७ जनाको हत्या भएको छ।
हत्या बढ्नुका कारण र अनुसन्धानमा प्रश्न:
मधेसमा गएको चार वर्षको अवधिमा ३७९ वटा हत्यासम्बन्धी मुद्दा दर्ता भएका छन् तर यीमध्ये कतिवटा मुद्दा निष्कर्षमा पुगे र अपराधीलाई सजाय भयो भन्ने यकिन तथ्यांक प्रहरीसँग छैन। यसले यति ठूलो संख्यामा भएका अपराधहरू कसरी ढाकछोप भइरहेका छन् भन्ने गम्भीर प्रश्न उठाइरहेको छ।
सामाजिक अभियन्ता शिवनाथ यादव भन्छन्, “पछिल्लो समय हत्या र हिंसाले प्रदेशलाई पोलिरहेको छ, राज्यका निकायहरूको अकर्मण्यता छरपष्ट भइरहेका छन्। जुनकारण अपराधीहरू संरक्षित छन्।”
प्रहरीका पूर्वअधिकारीहरूले भने मधेसमा हिंसात्मक अपराध बढ्नुका मुख्य कारण प्रहरीको निष्क्रियता नै रहेको बताउँछन्। उनीहरूका अनुसार मधेस प्रदेश छिमेकी मुलुक भारतसँग जोडिएको खुल्ला सीमाना भएको क्षेत्र हो। यसका साथै राजनीतिक संरक्षण, न्याय प्रणालीमा ढिलाइ, मुद्दाहरूको निष्कर्षमा पुग्न वर्षौं लाग्ने अवस्थाका कारण तथा शिक्षा र चेतनाको कमीका कारण मधेसमा हत्याका घटना भइरहेको निवर्तमान एआइजी लालमणि आचार्य बताउँछन्।
उनका अनुसार शिक्षा र चेतनाको कमीका कारण समुदायमा कानुनी चेतना अझै न्यून छ, जुनकारणले पनि हत्याका घटना हुने गरेको उनको ठम्याइ छ। “राज्यका निकायहरू प्रभावकारी र उत्तरदायी बन्यो भने केही हदसम्म समस्याको समाधान निस्किन्छ,” उनले भने।
प्रहरीको दाबी र यथार्थ:
प्रदेश प्रहरी कार्यालयका अनुसार, हत्या नियन्त्रणका लागि निगरानी बढाइएको दाबी गरिन्छ। तर, एकै प्रदेशमा चार वर्षमा ३८५ हत्या हुनुले प्रहरीको योजना कमजोर भएको संकेत गर्दछ।
प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार प्रदेशमा भएका हत्याका घटनामध्ये ८० प्रतिशत हत्या आवेशका कारण भएको पाइएको छ भने योजनाबद्धरुपमा गरिने हत्या कम छन्। यसका साथै रिसिइबी, विवाहेत्तर सम्बन्ध र आर्थिक लाभका कारण पनि हत्याका घटना भइरहेका छन्। उनले यसलाई प्रहरीको अकर्मण्यताले नै घटना घटेको भन्न नमिल्ने दाबी गर्दै रोकथामका लागि जनचेतना जगाउन जरुरी रहेको बताएकी छिन्।