
२४ जेठ,वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत जनतासँग सिधा संवाद गर्ने उद्देश्यले ‘हेल्लो सिएम’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारले ‘जनताको कुरा मुख्यमन्त्रीसम्म’ पुऱ्याउने गरी यो कार्यक्रम ल्याएको हो। नीति तथा कार्यक्रममा जनताको गुनासो, सुझाव र गुनासाहरूलाई प्राथमिकतामा राखी सुशासन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ। यस पहलबाट प्रदेश सरकार जनतासँग प्रत्यक्ष संवादमा जाने रणनीतिमा लागेको देखिन्छ।
‘हेल्लो सिएम’ कार्यक्रम अन्तर्गत नागरिकहरूले फोन, सामाजिक सञ्जाल वा अन्य माध्यममार्फत आफ्ना समस्या, गुनासो र सुझावहरू सिधै मुख्यमन्त्री कार्यालयमा पुऱ्याउन सक्नेछन्। यसबाट सरकारको जवाफदेहिता र पारदर्शिता सुनिश्चित हुने विश्वास गरिएको छ।
योजना अनुसार, प्राप्त गुनासोहरूको दर्ता, ट्र्याकिङ र समाधानका लागि एक विशेष पोर्टल वा ड्यासबोर्ड समेत तयार गरिनेछ। यस कार्यका लागि सूचना प्रविधिमा आधारित संयन्त्र विकास गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
मधेश प्रदेश सरकारले यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। मुख्यमन्त्री सिंहले भने, “यो कार्यक्रममार्फत प्रदेशका जनताको नजिक पुग्ने र जनअपेक्षा सम्बोधनमा गम्भीर रहेको सन्देश दिन चाहेको हो।”
‘हेल्लो सिएम’ कार्यक्रम लागू भएपछि जनताले प्रदेश सरकारसँग सिधै संवाद गर्ने अवसर पाउनेछन् भन्ने विश्वास गरिएको छ।