
२४ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईएए) कुनै राजनीतिक प्रतिशोध साँध्न प्रयोग हुने संस्था नभई काम गर्ने निकाय भएको बताएका छन्। अख्तियारले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेपछि यस विषयमा राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो।
मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटन समारोहपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त भनाइ राखेका हुन्।
‘माधव नेपालमाथि प्रतिशोध साँध्न अख्तियारलाई प्रयोग गरिएको हो?’ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले संक्षिप्त तर स्पष्ट जवाफ दिँदै भने, ‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो।’
प्रधानमन्त्रीको यो भनाइलाई अख्तियारको पछिल्लो कदमलाई लिएर उठाइएका प्रश्नहरूको जवाफका रूपमा हेरिएको छ।