
२५ जेठ, काठमाडौँ । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठक आज मध्याह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
लामो समयदेखि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले विपक्षी दलहरूसँग छलफल गर्न लागेका हुन् । विपक्षी दलहरूले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएका छन् भने सत्तापक्ष यसमा तयार नभएपछि संसद अवरुद्ध रहँदै आएको छ ।
यही विषयका कारण यही जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । यद्यपि, जेठ १५ गते बजेट प्रस्तुत गर्न दिइए पनि त्यसयता विपक्षी दलले प्रतिनिधि सभामा बजेटमाथिको छलफल हुन दिएका छैनन् ।