
२५ जेठ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेरहद लागू भएपछि अध्यक्षका लागि चार जना सचिवहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेकपा एमालेले सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएपनि चारै जना आ–आफ्नो दावीमा अडिग देखिएका छन् । उनीहरुले दाबेदारी नछाडेको खण्डमा मतदानमार्फत नेतृत्व चयन गरिने अध्यक्षका दाबेदार तथा हालका सचिव डाक्टर सुजन कडरियाले जानकारी दिएका छन् । ३२ वर्षे उमेरहद लागू भएपछि हालका सचिवहरु मात्रै अध्यक्षका लागि दाबेदार मानिएका छन् ।
महाधिवेशनका लागि देशभरीबाट १५०० को हाराहारीमा प्रतिनिधिहरू आएका छन् । सहमति भएको खण्डमा पाँच जना सचिवहरूबाटै एक जना अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारी चयन गरिनेछ ।
महाधिवेशनमा विधान संशोधन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा राजनीतिक प्रतिवेदन पेस गरिनेछ । यो पटक पदाधिकारी र केन्द्रीय सदस्यको संख्या घटाउने तयारी गरेको छ । १९९ सदस्यीय केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाइनेछ । यस्तै १७ जना पदाधिकारी रहेकोमा ९ सदस्यीय बनाइने तयारी छ ।