Logo

२५ जेठ, काठमाडौं । राजसंस्थाको पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई पुनर्गठन गर्ने तयारी गरिएको छ ।

नवराज सुवेदी नेतृत्वको समितिलाई पुनर्गठन गरेर अधिकतम युवाहरुलाई समेटिने तयारी भइरहेको हो । राजसंस्थाको पक्षमा रहेका अन्य दलका नेताहरु समेत सहभागी गराएर समितिलाई पुनर्गठन गरिने समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिएका छन् ।

युवाले कार्यक्रम बनाएर क्रियाशील ढंगले आन्दोलन अघि बढ्ने उनको दावी छ । युवाहरुले बनाएको कार्यक्रममा बुढाहरुले मान्नुपर्दछ भन्दै उनले नमान्ने हो भने सल्लाहकारमा राखिने बताएका छन् । गत साता सुवेदी नेतृत्वको समितिको समीक्षा बैठकमा होहल्ला भएपछि राजावादीहरु निष्कृय भएका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दाबोल्दै होहल्ला भएपछि सुवेदीले बैठक स्थगित गरेका थिए । थापा पक्षले बैठक कक्षमा पत्रकारहरुलाई प्रवेश गराएको र सवालजवाफ हुँदा त्यहीकारण बैठक पनि बिथोलिएको कतिपय राजावादी नेताहरुले आरोप लगाएका छन् ।

राजावादी ४४ संगठनले गर्ने भनिएको अनिश्चितकालिन आन्दोलन बिचमै अलपत्र परेको छ । सामूहिक रुपमा आन्दोलन अघि बढ्न नसक्नुमा नेताहरुले एकअर्को पक्षलाई आरोप लगाउँदै आएका छन् ।

पटक–पटक टुट्दै र जुट्दै गरेका राजावादीहरूलाई पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएरै एकताबद्ध हुन भनेका थिए । त्यसपछि कमल थापा र राजेन्द्र लिङ्देन लगायत पुराना राजावादी नेता ८५ वर्षीय नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्न तयार भएका थिए । उनीहरूले मुलुकमा गणतन्त्र आएको दिन जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि आन्दोलन सुरु गरेका थिए । तर अहिले राजावादीहरु निष्कृय छन् ।


सम्बन्धित समाचार