Logo

२५ जेठ, काठमाडौं । भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा उच्चस्तरीय छानबिनको माग गर्दै १३ जेठदेखि (बजेट प्रस्तुत गर्ने दिन जेठ १५ बाहेक) संसद् बैठक अवरोध गर्दै आएका विपक्षी दलहरूको बैठक सुरु भएको छ । संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा विपक्षी दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।

यसबीचमा सभामुख देवराज घिमिरेले पटकपटक संसद् अवरोध अन्त्य गर्ने प्रयास गरिरहे पनि बैठक सञ्चालन हुन सकेको छैन । शीर्ष नेताहरूबीच पनि संसद्को गतिरोध खुलाउनेबारेमा निरन्तर छलफल भइरहेको छ । सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि संसद् बैठक बोलाएका छन् ।

सत्तापक्षको ‘पेलेरै’ जाने तयारी

सत्तारुढ दलहरू भने आज (आइतबार) देखि पेलेरै भए पनि सदन अघि बढाउने पक्षमा देखिएका छन् । सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफलपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा नआएपनि संसद् चल्ने बताए । उनले विपक्षीले सहयोग गरे सहज ढंगले अघि बढ्ने तर असहयोग गरे विरोधकाबीच संसद् सुचारु हुने प्रष्ट पारे ।

‘उहाँहरूले असहयोग गरे अलिकति अप्ठ्यारो त होला तर संसद् आजदेखि चल्छ । धेरै दिन भयो, कति दिन लम्ब्याउने ?’ घिमिरेले भने, ‘आजदेखि कार्यसूचीमा संसद् प्रवेश गर्छ । आम जनतामा पनि राम्रो मेसेज दिइराखेको छैन । एकदमै निहुँ खोज्ने, अर्गेल्याइँ गर्ने हिसाबले अपोजिसनका कुरा आएका छन् । सधैँ यही ढंगले अनिर्णयको बन्दी भएर बसिराख्न सकिँदैन ।’

एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि लामो समयसम्म सदन बन्धक गर्ने पुष्टि विपक्षी दलहरूले दिन नसकेको बताउँदै अब सदन अघि बढ्ने बताए । उनले फेरि सूचना टाँस गरी संसद् स्थगित गर्ने काम अब नहुने प्रष्ट्याए ।

‘सूचना टाँस गरी बैठक स्थगित गर्ने उहाँहरूको कुरा आजसम्म मान्दै आयौं,’ बर्तौलाले भने, ‘आज हिजोको निरन्तरता हुँदैन । हामी स्मुथ्ली आजदेखि बैठक अघि बढाउन चाहन्छौं । बजेटमाथिको छलफल आरम्भ हुन्छ, संघीय निजामती विधेयक टेबल हुन्छ । यसमा अपोजिसनले अवरोध गर्न खोज्नु हुन्न भन्ने लाग्छ । लामो समयसम्म हाउस बन्धक गर्ने पुष्टि उहाँहरूले दिइरहन सक्नुभएको छैन ।’

सत्तापक्षको यो अडानसँगै आजको संसद् बैठक तनावपूर्ण हुने संकेत देखिएको छ ।


सम्बन्धित समाचार