
२५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको हो । पहाडी तत्कालीन प्रमुख व्यावसायिक अधिकृत थिइन् । नेपाल टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो मागदाबी गरेको छ भने बिगोमध्ये खर्च भएको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैया प्रतिवादीबाट असुलउपर गर्न मागदाबी गरेको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।