Logo

२५ जेठ,वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकामा लागुऔषधको बढ्दो दुरुपयोग रोकथाम गर्न जनचेतनामूलक तालिम सम्पन्न भएको छ। बहुदरमाइ नगरपालिका र पर्सा जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा नगरपालिकाको सभा हलमा तालिम कार्यक्रम गरिएको हो।

कार्यक्रममा प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, समुदायका अगुवा र स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमको क्रममा नगरपालिकाका राजनीतिक सल्लाहकार बिपीन यादवले कम उमेरका किशोर–किशोरीहरू लागुऔषधको लतमा फस्दै गएका गम्भीर समस्यालाई उठान गर्दै तत्काल सबै पक्ष सचेत र सक्रिय हुनुपर्नेमा जोड दिए।

“सानो उमेरका बालकसम्म लागुऔषधको लतमा परेका छन्, यदि समयमै सचेत नभइयो भने यसको असर भयावह हुन्छ,” यादवले भने। साथै उनले नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रियामा देखिएका जनगुनासो समाधान गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई आग्रह गरेका थिए।

सिडिओ अर्यालले नागरिकका समस्या प्रति प्रशासन गम्भीर रहेको स्पष्ट पार्दै तत्काल समाधानका लागि प्रतिबद्धता व्यक्त गरे। “प्रशासनमा काम गराउन गाह्रो परेमा मलाई सिधै फोन गर्न सक्नुहुन्छ, म तुरुन्त हस्तक्षेप गर्छु,” उनले भने।

कार्यक्रममा पर्सा प्रहरी प्रमुख गौतम मिश्रले लागुऔषधको सेवन र कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याइने चेतावनी दिए। “सूचना दिनुस्, सेवनकर्तालाई कारबाही गर्ने जिम्मा मेरो हो,” मिश्रले जनाए।

सहभागीहरूले स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको औंल्याए। तालिम कार्यक्रमको अध्यक्षता बहुदरमाइ नगरपालिकाका प्रमुख सिंगासन साह तेलीले गरेका थिए।

कार्यक्रमले समुदायमा लागुऔषधविरुद्ध सचेतना अभिवृद्धिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार