Logo

२६ जेठ, काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद घोषणा नगरे गरिबी बढ्ने दावी गरेका छन्। आइतबार सिंहदरबारमा सम्पन्न राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको स्पष्ट पारेका हुन्।

गौतमले भने, “समाजवाद घोषणा गर्ने वेला भयो, ढिला गर्नुहुँदैन। त्यही बाटोमा हिँडे मात्र हामी समृद्ध बन्न सक्छौँ। अरू बाटोबाट हिँडे भने गरिबको गरिबभन्दा अरू हुने छैनौं।”

उनले भ्रष्टाचार र नेताहरुको भ्रष्ट प्रवृत्तिको कडा आलोचना गर्दै भने, “भ्रष्टाचार नगरी नेता बन्न सकिँदैन, चुनाव जित्न सकिँदैन र राज्यलाई धोका दिनैपर्छ भन्ने मानसिकताले मुलुकलाई निरन्तर क्षति पुर्‍याइरहेको छ। अब यो सोचलाई बदल्नुपर्ने छ।”

गौतमले संविधानमा समाजवादको उल्लेख भए तापनि त्यसको कार्यान्वयनमा कमजोरी रहेको भन्दै त्यसप्रति आपत्ति जनाए। उनले भ्रष्टाचारमुक्त समाजवाद नै नेपालको समृद्धि र विकासको आधार हुने बताए।

समाजवादको मार्ग अपनाएर मात्र जनताको जीवनस्तर सुधार्न सकिने उनको विश्वास छ। उनले यो विषयमा सबै राजनीतिक दल र जनसमुदायसँग सहकार्यको आह्वान समेत गरेका छन्।


सम्बन्धित समाचार