
२६ जेठ, काठमाडौँ । अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपालीहरू आइतबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बोरा बोकेर फर्किएका छन्। उनीहरूमध्ये कतिपय रित्तो हात फर्किएका छन् भने केहीसँग सानो सामान मात्र थियो।
अमेरिकाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपालीहरू चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइएका थिए। वरिष्ठ अध्यागमन अधिकृत र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार उनीहरू विमानस्थलमा सामान्य अवस्थामा देखिएका थिए।
प्रवक्ता न्यौपानले भने, “हाम्रो इमिग्रेसनमा आउँदा उनीहरू सामान्य थिए, विमानमा के भएको थियो त्यो हामीलाई थाहा छैन।” उनीहरू राति करिब साढे ९ बजे विमानस्थल ओर्लेका थिए र करिब १२ बजे विमानस्थलबाट बाहिरिएका थिए।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालपछि अमेरिकाले आप्रवासीमाथि कडाइ गर्न थालेको छ। भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बस्ने र अवैध रूपमा बसोबास गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर डिपोर्ट गरिने प्रचलन बढेको छ। केही देशका नागरिकहरूलाई हत्कडी र नेल लगाएर फर्काएको समाचार पनि सार्वजनिक भइरहेका छन्।
सन् २०२५ को जनवरीदेखि मे महिनासम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १४० पुगिसकेको छ। यस अवधिमा जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना डिपोर्ट भएका छन्।
अध्यागमन विभागका स्रोतका अनुसार डिपोर्ट हुनेहरूमा दलाललाई ठूलो रकम बुझाएर अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरू धेरै छन्। सन् २०२१ देखि २०२४ सम्म डिपोर्ट हुने नेपालीको संख्या क्रमशः ३५, २२, २४ र ५२ रहेको तथ्यांक छ।
डिपोर्ट भएका व्यक्तिहरूलाई मानव बेचबिखन नियन्त्रण ब्यूरोले सामान्य सोधपुछ गरी घर जान अनुमति दिएको छ। दलालविरुद्ध उजुरी आएपछि मात्रै अनुसन्धान प्रक्रिया अघि बढ्ने गरेको ब्यूरोले जनाएको छ।