Logo

२६ जेठ, काठमाडौँ । पछिल्लो समय पानी पर्न कम भएसँगै काठमाडौँ उपत्यका र देशका अन्य भागमा गर्मी बढ्न थालेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि देशका धेरै स्थानमा तापक्रम अझै बढ्नेछ।

महाशाखाका अनुसार आज धनगढीमा तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ भने काठमाडौँको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ। मौसमविद् हरिप्रसाद दाहालले केही दिनदेखि मनसुन कोशी प्रदेशमै अड्किँदा देशभर मनसुन पूर्ण रूपमा प्रवेश गर्न सकेको छैन भने बताए ।

गत १४ गते कोशी प्रदेशबाट मनसुन प्रवेश गरे पनि त्यसपछि ठूलो वर्षा नभएपछि तापक्रम बढिरहेको छ। तर यस हप्ताभित्र मनसुन देशभर फैलने सम्भावना रहेको मौसमविद् दाहालले जानकारी दिएका छन् ।

मौसमविद् विनोद पोख्रेलका अनुसार पर्सि बुधवारदेखि केही स्थानमा हल्का वर्षा हुन सक्नेछ भने बिहीवारदेखि उल्लेख्य वर्षाको सम्भावना छ। पर्सि बुधबारदेखि तापक्रम घट्न सुरु भई वर्षा बढ्ने पनि उनको भनाइ छ।

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारिरहेको छ भने कोशी प्रदेशका धेरै भागमा मनसुनी वायुको प्रभाब देखिएको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही भाग र अन्य पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा र मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भू–भागमा एक–दुई ठाउँमा हिमपात पनि हुन सक्ने सम्भावना छ ।


सम्बन्धित समाचार