Logo

२६ जेठ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताह–२०८२ अन्तर्गत सोमबार पाँचौँ दिन वीरगञ्ज महानगरपालिका–२४, परवानीपुर क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

करिब २०० जनाको सहभागितामा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ । यस कार्यक्रमबाट हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास लिइएको छ ।

कार्यक्रमको नेतृत्व गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले ट्राफिक सप्ताहको उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउनुका साथै वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउनु रहेको बताए। उनले आगामी दिनहरूमा वीरगञ्जका विभिन्न क्षेत्रमा अझ प्रभावकारी ट्राफिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा ट्राफिक प्रहरीका गुणनिधि खकुरेल, नेपाली कांग्रेसका नेता हबिब मिया, समाजसेवी विजय गुप्ता, बारा इँटा व्यवसायी संघका अध्यक्ष ओमप्रकाश यादव, युवा नेता ज्ञानेन्द्र मण्डल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै, परवानीपुर ट्राफिक प्रहरी बिटका इन्चार्ज इन्द्र मगर, पत्रकार लगायतको उपस्थिति थियो ।

ट्राफिक सप्ताहको पाँचौँ दिन वीरगञ्जस्थित ब्राइट पब्लिक स्कूल र मुनलाईट स्कूलका विद्यार्थीहरूले पनि सक्रिय सहभागिता जनाए। उनीहरूलाई व्यस्त चोकहरूमा खटाएर पैदल यात्रुलाई जेब्रा क्रसिङ प्रयोग गर्न, सहि दिशा र सडक पेटीबाट हिँड्न प्रेरित गरिएको थियो। विद्यार्थीहरूले ट्राफिक शिष्टाचारसम्बन्धी पर्चा तथा पम्पलेट वितरण गर्दै सर्वसाधारणलाई ट्राफिक नियमबारे जानकारी गराएका थिए ।

आयोजकका अनुसार, यस्ता जनमुखी तथा व्यवहारमैत्री कार्यक्रमहरूले नागरिकमा ट्राफिक नियमप्रतिको चेतना बढाउने र सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। ट्राफिक सप्ताहका बाँकी दिनहरूमा समेत थप जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिइएको छ ।


सम्बन्धित समाचार