Logo

२६ जेठ,वीरगञ्ज । आउँदै गरेको मनसुन तथा मनसुनजन्य विपद् एवम् अन्य किसिमका प्राकृतिक तथा मानवजन्य विपद्हरूलाई समेत मध्यनजर गर्दै विपद् उद्धार कार्यमा स्थानीय समुदायको सक्रिय सहभागिता गराउने उद्देश्यका साथ वीरगञ्ज महानगरपालिकामा “समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम” को सुरु भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना र वीरगञ्ज महानगरपालिकाको संयोजनमा वीरगञ्ज महानगरपालिका कार्यालयको सभाहलमा आजदेखि सुरु भएको २१ कार्य दिनको यस तालिममा वीरगञ्ज महानगरपालिका अन्तर्गतका ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंह रहनुभएको थियो।

विशिष्ट अतिथिका रूपमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्साका अध्यक्ष बृज किशोर पटेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले गर्नुभएको थियो। यस तालिमले स्थानीय समुदायलाई विपद् व्यवस्थापन र उद्धार कार्यमा थप सशक्त बनाउने विश्वास लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।

 


सम्बन्धित समाचार