
२६ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा घुस मुद्दा अदालतमा लैजाने भएको छ ।
कर्जा प्रवाह गर्दा घुस एवं कमिसन लिने गरेको उजुरीमा छानबिन गरेसँगै अख्तियारले विशेष अदालतमा ३ वटा घुस मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । अख्तियार स्रोतका अनुसार सरकारी स्वामित्वको बैंक नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष अधिकारीविरुद्ध आजै अख्तियारले घुस मुद्दा दर्ता गर्ने तयारी छ ।
अधिकारीलाई आयोगले गत वर्ष माघ २९ गते नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीबाट कर्जाबापतको कमिसन उठाउने गरेको अनुसन्धानबाट फेला परेको थियो । अख्तियारको छानबिनमा परेसँगै नेपाल राष्ट्र बैंकले पनि डा.अधिकारीलाई कारबाही गरिसकेको छ ।
केन्द्रीय बैंकले अनुचित क्रियाकलाप गरेको भन्दै अध्यक्षलाई जरिवानासहित अध्यक्ष पदबाट हटाउन नेपाल बैंकको सञ्चालक समितिलाई निर्देशन दिएको थियो । योसँगै उनी अध्यक्ष पदबाट निष्काशित भएका थिए ।