
२६ जेठ, काठमाडौं । डाइभर्सिटी भिसा (डिभी) परेर अमेरिका पुगेका एक व्यक्तिलाई पनि डिपोर्ट गरेर फिर्ता पठाइएको छ ।
अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएका ३७ जनामध्ये एक जना डिभीमा त्यहाँ गएका व्यक्ति पनि फिर्ता भएका हुन् । अध्यागमन विभाग स्रोतका अनुसार, १० वर्षअघि डिभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए । एक जना आफन्तसँग बसिरहेका उनी त्यहाँ पारिवारिक विवादमा परेका थिए । त्यसक्रममा उनलाई प्रहरीले पक्राउ गरेर लगेको थियो ।
केही समयको अनुसन्धान अनि कानुनी प्रक्रियापछि उनलाई अमेरिकी प्रशासनले डिपोर्ट गर्ने निर्णय गरेको थियो । त्यसपछि काठमाडौं स्थायी घर भएका उनलाई चार्टर्ड विमानमा काठमाडौं पठाइएको थियो ।