
२६ जेठ, काठमाडौं । तराई/मधेस द्रुतमार्गको सुरु विन्दुबारे जारी विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको खोकना र बङुमति क्षेत्रका स्थानीय प्रतिनिधिहरूसँग आज बालुवाटारमा छलफल गरेका छन्।
प्रधानमन्त्री निवासमा आयोजित छलफलमा खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, वडा नं. २१ का अध्यक्ष ज्ञानभक्त महर्जनलगायत सहभागी थिए।
स्थानीय प्रतिनिधिहरूले खोकना क्षेत्रमा सुरु विन्दु राख्दा परम्परागत संस्कृति, सभ्यता र बस्तीमा प्रत्यक्ष असर पर्ने भन्दै विकल्पस्वरूप डुकुछापमा विन्दु सार्न सुझाव दिएका छन्। उनीहरूले खोकनाको सांस्कृतिक सम्पदा जोगाउन साढे पाँच किलोमिटर तल डुकुछाप उपयुक्त हुने तर्क राखेका थिए।
छलफलमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी तथा नेपाली सेनाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो। प्रधानमन्त्री ओलीले स्थानीय जनताको भावनालाई बेवास्ता गर्दै विकास नगर्ने प्रतिबद्धता व्यक्त गर्दै, “स्थानीयको पीडा नबुझी निर्णय लिइँदैन,” भन्दै स्थलगत अवलोकन गरेर मात्र निर्णयमा पुग्ने जानकारी गराए।
यसअघि माघ २३ गते प्रधानमन्त्री ओलीले सिंहदरबारमा आयोजना प्रगतिबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देललगायतसँग छलफल गरेका थिए।
दुई खर्ब ११ अर्ब ९३ करोड लागतको ७०.९७ किलोमिटर लामो यो द्रुतमार्ग आयोजना २०७४ सालमा सुरु भएको हो। हाल आयोजना सन् २०२७ (वि.सं. २०८३ चैत) भित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ।
स्थानीय सरोकार र राष्ट्रिय विकासबीच सन्तुलन कायम गर्दै समाधान निकाल्ने प्रयासस्वरूप प्रधानमन्त्रीको सक्रियता बढ्दै गएको देखिन्छ।