
२७ जेठ,काठमाडौं।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज २५०० दिन पूरा भएको छ। २०७५ साउन १० गते भएको यो जघन्य घटनाको ६ वर्ष १० महिना १६ दिन बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेका छैनन्, जसले पीडित परिवारलाई न्याय पाउने आशाबाट वञ्चित गराएको छ।
निर्मलाकी आमा दुर्गादेवीले अब अपराधी पत्ता लाग्छ र न्याय पाइन्छ भन्ने आशा नै मरिसकेको बताएकी छिन्। अनुसन्धान टोलीले पछिल्लो दुई वर्षयता आफ्नो घरमा समेत पाइला नटेकेको उनको गुनासो छ। “नहुनु घटना भयो, मन शान्त छैन। तर राम्रो अनुसन्धान होला र अपराधी पक्राउ पर्छन् भन्ने आशा गरेकी छैन,” दुर्गादेवीले निराश हुँदै भनिन्।
अनुसन्धानमाथि गम्भीर प्रश्न
निर्मला हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै स्वदेश तथा विदेशमा लामो समयसम्म आन्दोलनहरू भए। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा सरकारको चर्को आलोचना भए पनि प्रहरीले वास्तविक अपराधी पत्ता लगाउन सकेन। प्रहरीले १२० भन्दा बढी व्यक्तिहरूमा अनुसन्धान गरी केहीलाई हिरासतमा राखेर पनि सोधपुछ गर्यो, तर प्रत्यक्ष संलग्न अपराधी भने अझै अज्ञात छन्।
हालका गृहमन्त्री रमेश लेखक कञ्चनपुरकै सोही क्षेत्रका जनप्रतिनिधि हुन्। उनले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि निर्मलाका हत्यारा पत्ता लगाउने बचन दिएका थिए। तर, त्यस दिनदेखि उनले निर्मलाको प्रसंग उठाएका छैनन्। लेखककै निजी सचिवालयका एक सदस्यका अनुसार, नेपाली प्रहरी र सीआईबीसँग यस घटनाका सम्बन्धमा कुनै किसिमको छलफल, संवाद वा निर्देशन दिइएको छैन।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता युवराज खड्काले निर्मला पन्तको जस्तो जटिल केसमा सूक्ष्म अनुसन्धान सधैं जारी रहने गरेको बताएका छन्, तर पछिल्लो अनुसन्धानबाट प्राप्त प्रगति विवरण सीआईबीले सार्वजनिक गरेको छैन।
मानव अधिकारकर्मीद्वारा राज्यको ‘निरीहता’ माथि टिप्पणी
नेपालको इतिहासमै सबैभन्दा बढी छानबिन समिति बनेको, सडकदेखि सदनसम्म आवाज उठेको र मानव अधिकारकर्मीले घटनाको छानबिन गरेको यो नै पेचिलो घटना मानिन्छ, तर यसको निष्कर्ष भने केही पनि निस्केको छैन। मानव अधिकारकर्मी राजन कुईंकेल निर्मला पन्तको घटनाबारे निष्पक्ष छानबिन गर्न नसक्नु राज्यको निरीहता र कायरता भएको बताउँछन्।
“नेपाल प्रहरीले धेरै जटिल केसहरू अनुसन्धान गरेको छ। विदेशबाट अपराधी पत्ता लगाएर नेपाल ल्याएको धेरै उदाहरण छन्, गर्न नसक्ने भन्ने नै हुँदैन। यसमा ठूलो दबाब र प्रभाव छ। राज्य लाचार भएको छ र पीडकहरू छाती फुलाएर हिँडिरहेका छन्,” उनले भने। कुईंकेलले घटनालाई नयाँ सिराबाट अनुसन्धान सुरु गर्नुपर्ने सुझाव दिएका छन्।
गृहमन्त्रीहरूको प्रतिबद्धता र परिणामविहीनता
निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गरी पाँच जना गृहमन्त्रीको कुर्सीमा रहेका छन्। यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुंगोमा पुर्याउने आश गरिएको थियो, तर उनीहरूले पनि कुनै परिणाम दिन सकेनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले रवि लामिछानेलाई ६ महिना मात्र काम गर्न दिएको भए धेरै अपराधी र भ्रष्टाचारी जेल गइसक्थे भन्दै अनुसन्धानलाई प्रभावित पार्ने काम भएको आरोप लगाए।
प्रहरीले अनुसन्धानमा ठूलो खर्च नगरेको होइन। बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा १२४ जनाको डीएनए जाँच गरिएको थियो, तर कसैसँग पनि डीएनए म्याच नगरेको विवरण सार्वजनिक भएको छ।
छोरीको न्यायका लागि निर्मलाका आमा–बुवाले न्यायलय धाउने मात्र नभई अनशन समेत बसे। काठमाडौंसमेत पुगेर प्रधानमन्त्रीलाई भेटे, जिल्ला प्रहरी कार्यालय दर्जनौं पटक धाए, तर निर्मला हत्याका वर्षहरू घर्किँदै जाँदा उनीहरूको आशा पनि मर्दै गएको छ। मानवअधिकारकर्मी एवं अधिवक्ता इन्द्र ढुंगानाका अनुसार तत्कालीन अवस्थामा उच्चस्तरीय छानबिन समितिले तयार पारेको ३७ पृष्ठ लामो प्रतिवेदनको कार्यान्वयन नहुँदा समस्या जटिल बनेको छ। प्रतिवेदनमा प्रहरीको लापरवाही औंल्याइएको थियो, तर त्यसको कार्यान्वयन नहुनुलाई रहस्यका रूपमा हेरिएको छ।
निर्मला पन्तले न्याय कहिले पाउलिन्, वा यो घटना सदाका लागि रहस्यमै सीमित रहला?