
काठमाडौं । सोलुखुम्बुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
सोलुदुधकुण्ड नगरपालिका–८ बाघखोरमा टेम्पो दुर्घटना हुँदा ओखलढुंगाका एक युवकको मृत्यु भएको हो । सोलुखुम्बको सदरमुकाम सल्लेरीबाट ओखलढुंगा जाँदै गरेको टेम्पो सडकबाट खस्दा त्यसमा सवार ओखलढुंगाको मोलुङ गाउँपालिका–८ को २८ वर्षीय लाक्पा शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिनुभयो ।
बिहान करिब साढे ११ बजे अटो रिक्सा सडकबाट करिब १ सय ५० मिटर तल अनियन्त्रित भएर खसेको थियो । दुर्घटनामा परि घाइते हुनेमा टेम्पो चालक सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–६ मुक्लीका ३८ वर्षीय राजेश विक, सोही ठाउँका ४० वर्षीय काजी विक र ओखलढुंगा मोलुङका ३५ वर्षीय मिङमार शेर्पा रहेका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।