Logo

 समाचार सारांश

  • राजेशमान सिंह : यो काम केवल ट्राफिक प्रहरीको मात्र जिम्मेवारी होइन ।
  • इम्तियाज आलम : गाउँघर र ग्रामीण भेगमा अझ विशेष जोड दिनुपर्छ ।
  • सुमन कार्की : नेपालमा दैनिक सातजनाको ज्यान जाने तथ्यांकलाई घटाउन सचेतना फैलाउनु अत्यावश्यक छ।

२८ जेठ, वीरगञ्ज । “सडक सुरक्षा र ट्राफिक व्यवस्थापन ३ सय ६५ दिन निरन्तर सञ्चालन हुनुपर्छ र यो काम केवल ट्राफिक प्रहरीको मात्र जिम्मेवारी होइन ।” वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले भनेका छन् ।

वीरगञ्जको नगरसभा गृहमा आयोजित ट्राफिक सप्ताह समापन समारोहमा बोल्दै उनले बसपार्क क्षेत्रमा जथाभावी यात्रु चढाउने र तान्ने गतिविधिले वीरगन्जको छविमा नकारात्मक प्रभाव पारेको बताए ।

घण्टाघरस्थित ट्राफिक लाइटलाई तुरुन्त सञ्चालन गर्नुपर्ने र ट्राफिक नियम नमान्ने युवाहरूलाई कारवाही गर्नुको सट्टा उनीहरूको अभिभावकलाई बोलाएर सम्झाउने उपाय अपनाउनुपर्ने सुझाव मेयर सिंहले दिएका छन् ।
उनले कलेजका विद्यार्थीहरूलाई ठूलो आवाज गर्ने मोटरसाइकल प्रयोग नगर्न र अनुशासनमा बस्न आग्रह समेत गरेका छन् ।

महानगरका उपमेयर इम्तियाज आलमले भने, “शहरमा ट्राफिक सचेतना सधैं फैलाइँदै आएको छ, तर गाउँघर र ग्रामीण भेगमा अझ विशेष जोड दिनुपर्छ ।” उनले ट्राफिक नियम पालना सम्बन्धी नाटक प्रदर्शन र सन्देशमूलक सूचनाको प्रभावकारी सम्प्रेषण आवश्यक रहेको बताए ।

समापन समारोहमा बोल्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले जनताको जिउधनको सुरक्षा सुनिश्चित गर्न खटिने ट्राफिक प्रहरीलाई धन्यवाद व्यक्त गर्दै नेपालमा दैनिक सातजनाको ज्यान जाने तथ्यांकलाई घटाउन सचेतना फैलाउनु अत्यावश्यक रहेको बताए ।

उनले भने, “सडकलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरी मात्र होइन, सबै नागरिक र सरोकारवालाको दायित्व हो ।” यस्तो सामूहिक प्रयासले मात्र समाज र राष्ट्रलाई सकारात्मक दिशामा अघि बढाउन सकिने उनले जोड दिए ।

यस्तै वडा नम्बर ४ का अध्यक्ष जगत साह कानुले ट्राफिक सप्ताहलाई निरन्तरता दिनुपर्ने बताए । उनले सडक सुरक्षा र ट्राफिक नियम पालनामा सचेतना बढाउन ट्राफिक सप्ताहले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई निरन्तरता दिँदै आवधिक रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । यस्तो पहलले दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास उनको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले भने, “सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिकलाई सडकमा मात्र उभ्याएर सम्भव छैन, सडक पूर्वाधार, सडक बत्ति मर्मत, व्यवस्थापन लगायत सबै सरोकारवालाको संलग्नता आवश्यक छ ।”

ट्राफिक बत्ती मर्मत भएमा ट्राफिक नियम पालनामा सहयोग पुग्ने बताउँदै एसपी मिश्रले सेवाग्राहीले पनि नागरिकको जिम्मेवारी पूरा गर्नुपर्ने कुरामा जोड दिए । बजारमा पार्किङ समस्यालाई समाधान गर्न पहेंलो घेरा लगाएर व्यवस्थापनमा सक्रियता देखाइएको उनले जानकारी दिए ।

वीरगञ्जमा ट्राफिक जनचेतनामुलक सप्ताह कार्यक्रम आज सम्पन्न भएको छ । जेठ २२ देखि संचालन गरिएको ट्राफिक सप्ताह कार्यत्रममा दुर्घटना न्यूनीकरणका लागि चालकहरूको स्वास्थ्य परीक्षण, वृक्षारोपण र सवारी साधनको चेकजाँच जस्ता कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले जानकारी दिए ।

वीरगञ्जमा सम्पन्न यो कार्यक्रमले ट्राफिक नियम पालनामा जनचेतना बढाउने र सडक सुरक्षा सुनिश्चित गर्ने उद्देश्य पुरा गर्ने विश्वास व्यक्त गरिएको छ । ट्राफिक सप्ताहलाई निरन्तरता दिँदै ३६५ दिन सडक सुरक्षा अभियान जारी राख्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको भट्टले बताए ।


सम्बन्धित समाचार