Logo

२८ जेठ,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा अब ’खेल्दै सिक्दै’ कार्यक्रम सञ्चालन हुने भएको छ। गाउँपालिका कार्यालय र कारखाना समूहको समन्वयमा यो कार्यक्रम अगाडि बढाइने जनाइएको छ।

गाउँपालिकाका माध्यमिक विद्यालय दाप सुगौली, निचुटा, रंगपुर, पटेर्वा, र आधारभूत विद्यालय बेलवा तथा बैजनाथपुरमा यो कार्यक्रम लागू गरिनेछ।

कार्यक्रमको उद्देश्य र प्रारम्भिक परीक्षण
जेठ २८ गते (बुधबार) वडा नम्बर ४ को वडा कार्यालयको सभा हलमा ’खेल्दै सिक्दै’ कार्यक्रमको प्रारम्भिक परीक्षण कार्यक्रम सम्पन्न भयो। यसमा प्रत्येक विद्यालयका चार जना शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता थियो।

प्रशिक्षकहरूले कार्यक्रमको माध्यमबाट बालबालिकाहरूलाई सरल, व्यावहारिक, आकर्षक र दीर्घकालीन सिकाई सम्बन्धी प्रशिक्षण दिए। यो परियोजनाले विद्यार्थीहरूलाई सोच्न, जोखिम लिन, रमाइलो गर्न, गल्तीबाट सिक्न, र शिक्षक तथा साथीसँग मिलेर सिक्न अभिप्रेरित गर्ने प्रशिक्षकहरूले बताए। साथै, यस परियोजनाबाट विद्यार्थीहरूले नवीन र समावेशी शिक्षा, डिजिटल रूपान्तरण, आपत्कालीन शिक्षा, दिगोपन र जलवायु शिक्षा हासिल गर्ने अपेक्षा गरिएको छ।

सम्झौता र कार्ययोजना
यो कार्यक्रम दुई वर्षका लागि सञ्चालन गरिने कारखाना समूहले जनाएको छ। परियोजना सञ्चालनका लागि गाउँपालिकाका प्रतिनिधि, कारखाना समूहका प्रतिनिधि र सम्बन्धित विद्यालयका प्रधानाध्यापकबीच त्रिपक्षीय सम्झौता पनि सम्पन्न भएको छ।

’खेल्दै सिक्दै’ कार्यक्रम मधेश प्रदेशको चालू शैक्षिक सत्र २०८२ मा पर्साको पटेर्वासुगौली गाउँपालिका र रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालन गरिने जनाइएको छ।

पटेर्वासुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष बाशु पन्जियार थारु, विजय गैरे, कारखाना समूहका कार्यकारी निर्देशक सचेत मानन्धर, प्रोग्राम म्यानेजर प्रेक्षा श्रेष्ठ, प्रशिक्षक निशा श्रेष्ठ, प्रादेशिक अधिकृत निरज कुमार मिश्रा, रुपा मानन्धर लगायतको उपस्थिति थियो।


सम्बन्धित समाचार