
१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणपछि प्रतिनिधि सभाको बैठक सुचारु गर्न सत्तापक्षसँग भएको दुई बुँदे सहमतिबारे स्पष्टीकरण दिएका छन्।
पार्टीको उक्त कदमप्रति चौतर्फी आलोचना भइरहेका बेला आज प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा पुनले आफ्ना नेता अग्नि सापकोटाको मुद्दासँग पार्टीले सम्झौता गरेको आरोप निराधार भएको स्पष्ट पारे।
पुनले भिजिट भिसाका सवालमा नागरिकका समस्या र चासो समाधान गर्न एक महिनाको समयसीमा निर्धारण भएको भन्दै आफ्नो पार्टी भिजिट भिसाको समस्या समाधान गर्ने पक्षमै रहेको दाबी गरे। यसअघि माओवादीले पनि गृहमन्त्रालय सम्हालिसकेको र सोहीकारण तर्सिएको भन्ने प्रश्न उठेको सन्दर्भमा पनि उनले जवाफ दिए।
पुनले दुई बुँदे सहमति गर्दा पूर्वसभामुख अग्निप्रसाद सापकोटाको मुद्दाको प्रसङ्ग जोडेर माओवादी तर्सियो वा लेनदेन गर्यो भनेर भएको प्रचारमा कुनै सत्यता नभएको दाबी समेत गरे।