
१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. टकराज गुरुङले आज प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा पूँजीगत खर्चलाई उच्च प्राथमिकता दिइएको छ ।
प्रस्तुत बजेटअनुसार, चालु खर्चतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो । यता, पूँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल विनियोजनको ५९.७ प्रतिशत हुन आउँछ । वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ (कुल विनियोजनको ०.८ प्रतिशत) रकम विनियोजित भएको छ ।
अर्थमन्त्री गुरुङले प्रस्तुत गरेको बजेटले आगामी वर्ष १ करोड ५४ लाख ५२ हजार रुपैयाँ सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको छ । यस बजेटले प्रदेशको विकास निर्माण र पूर्वाधार विस्तारमा जोड दिँदै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा टेवा पुर्याउने लक्ष्य लिएको बताइएको छ ।