२ असार, काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैठकमा दुई प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आ–आफ्नो तरिकाले अवरोध जारी राखेका छन् ।
सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाउन खोज्ने बित्तिकै दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका छन् । भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले लगातार संसद् अवरोध गर्दै आएका छन् ।
आजको बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्ने समय दिएका थिए । लिङ्देनले जबसम्म अवरोधका बीच पनि संसद् बैठक चलाइन्छ, तबसम्म आफूहरू यसमा भाग नलिने भन्दै बहिष्कारको घोषणा गरेका थिए ।
राप्रपाको बहिष्कार घोषणापछि रास्वपाका सांसदहरूले भने वेल घेरेर नाराबाजी सुरु गरेका छन्। । यसरी दुई प्रतिपक्षी दलले आ–आफ्नो फरक शैलीमा संसद्मा विरोध कायम राखेका छन् ।
















