Logo

२ असार, काठमाडौं । काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सरकारले ल्याएको बजेटमा ‘ब्रह्मलुट’ मच्चाइएको भन्दै चर्को विरोध गरेको छ ।

पार्टीका उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले संसदमा प्रतिपक्षी दलको वेल घेराउ र नाराबाजीका बीच बोल्दै बजेट केही मन्त्री र सत्तापक्षका नेताको कब्जामा रहेको आरोप लगाएका छन्। ज्वालाले बजेट झापा, रुपन्देही र काठमाडौंमा मात्रै केन्द्रित भएको, दुर्गम क्षेत्रलाई बेवास्ता गरिएको र मन्त्रीहरूले आफ्ना कार्यकर्तालाई मनलाग्दी रकम बाँडेको दाबी गरे । उनले सहरी विकास मन्त्रालय लगायतका बजेट किताबहरूले बजेटमा ‘ब्रह्मलुट’ मच्चाइएको कुराको साक्षी रहेको बताउँदै मन्त्री र नेताका बुवाआमाको नाममा, पार्टी र जनसंगठनका कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको आरोप लगाए ।

योजना आयोगको ३ करोडभन्दा माथिका योजना छनोट गर्ने निर्देशिकालाई लत्याएर १ लाख, ५० हजार र १ हजारसम्मका योजनामा समेत बजेट छरिएको भन्दै उनले बजेट निर्माण र वितरणमै ठूलो भ्रष्टाचार र अनियमितता भएको औंल्याए । उनले यो बजेटले समाजवादको दर्शन भुलेको र बाटो बिराएको भन्दै जनविरोधी, मन्त्रीमुखी बजेटको घोर आपत्ति र विरोध गरे ।

सांसद ज्वालाले संसद्को नियमावली र संसदीय अभ्यासअनुसार यस्तो अवस्थामा संसद्को कारबाही चल्न नसक्ने भए पनि जनविरोधी बजेटको पर्दाफास गर्न र जनताका मुद्दाहरू सम्बोधन गर्न बोल्न बाध्य भएको बताए । उनले आफ्नो पार्टीले देश विकास, समृद्धि, उत्पादन वृद्धि, रोजगारी, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक संकटबाट मुक्ति र आत्मनिर्भर अर्थतन्त्र विकासका विषयहरू समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए पनि समावेश नगरिएकोमा दुखेसो पोखे ।

उनले ६ खर्बको घाटा बजेट, चालू बजेटको शतप्रतिशत खर्च, पुँजीगत खर्चको कमी, बढ्दो मुद्रास्फीति र आन्तरिक ऋणले समष्टिगत आर्थिक स्थायित्वमा चुनौती आउने बताए । उनले चरम भ्रष्टाचार, अनियमितता र बेथितिले नागरिकलाई सेवा प्रवाह र सुशासन प्राथमिकताको फेदमा पुगेको टिप्पणी गरे । बजेट संविधानले लिएको गणतन्त्रको संवर्द्धन र समाजवादको तयारीको मूल लक्ष्यबाट विचलित भएको र सार्वजनिक क्षेत्रलाई संकुचन गरी निजी क्षेत्रलाई अन्धाधुन्ध बढावा दिएको आरोप पनि उनले लगाए ।


सम्बन्धित समाचार
भर्खरै