
६ असार, काठमाडौं । इजरायल र इरानबीच जारी युद्धका कारण ती देशमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन समन्वय र सहजीकरण गर्न परराष्ट्र मन्त्रालयमा एक विशेष युनिट स्थापना गरिने भएको छ। यो युनिटले चौबीसै घण्टा काम गर्नेछ।
आज परराष्ट्र मन्त्रालयमा बसेको गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठकले यो निर्णय गरेको हो। बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम मन्त्री शरदसिंह भण्डारी लगायत तीनवटै मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरू सहभागी थिए।
परराष्ट्रमन्त्री राणा देउवाले जानकारी दिँदै भनिन्, इजरायल र इरानमा युद्धका कारण विकसित पछिल्लो परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा आज परराष्ट्र मन्त्रालयमा बैठक सम्पन्न भयो। उनले ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरूलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको बताइन्। नेपालले युद्ध सुरु भएदेखि नै त्यहाँको अवस्थालाई गम्भीर रूपमा हेरिरहेको र कोही नेपाली स्वदेश फर्कन चाहेमा उनीहरूलाई कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ।
यो युनिटमा गृह, श्रम र पर्यटन मन्त्रालयका समेत अधिकारीहरू सम्मिलित हुनेछन्, जसले उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।