Logo

६ असार, काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आज संक्रमणकालीन न्याय (टीआरसी) लगायतका समसामयिक राजनीतिक विषयमा महत्त्वपूर्ण छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकमा टीआरसी गठनपछिका कामकारबाहीको समीक्षा र त्यससँग सम्बन्धित प्रशासनिक विषयमा विस्तृत छलफल भएको पूर्वमन्त्री अग्नि खरेलले जानकारी दिए।

खरेलका अनुसार, बैठक मुख्यतया संक्रमणकालीन न्यायकै विषयमा केन्द्रित थियो। अर्थमन्त्रीले हालै सार्वजनिक गरेको बजेटमा संक्रमणकालीन न्यायसँग सम्बन्धित कोषमा करिब एक अर्ब रुपैयाँ विनियोजन गर्ने प्रस्तावबारे छलफल भयो। यस कोषको व्यवस्थापन, पीडितहरूको उपचार सरकारी अस्पतालबाट गर्ने विषय, र बजेट वक्तव्यमा उल्लेख गरिएका अन्य सान्दर्भिक प्रावधानबारे विस्तृत कुराकानी भएको खरेलले बताए।

बैठकमा विभिन्न संघसंस्थाहरूले टीआरसी सम्बन्धी काम गर्न संयन्त्र बनाएको, पीडितहरूलाई बोलाएर छलफल गरेको जस्ता सामान्य विषयमा पनि जानकारी गराइएको थियो। खरेलले सरकार संक्रमणकालीन न्यायको विषयमा सचेत रहेको र यसमा सरकारको तर्फबाट कुनै कमीकमजोरी नहुने गरी सहयोग अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

छलफलका क्रममा दैलेखमा पेट्रोलियम पदार्थ फेला परेको सुखद खबरबारे पनि खुशी साटासाट भएको खरेलले जानकारी दिए। यो बैठकले संक्रमणकालीन न्याय प्रक्रियालाई अगाडि बढाउन र यससँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्न प्रमुख राजनीतिक दलहरूबीच थप समन्वय र सहकार्यको आवश्यकतामा जोड दिएको देखिन्छ।


सम्बन्धित समाचार