
१२ असार,वीरगञ्ज । नेपालमा चार वर्षदेखि बेवारिसे अवस्थामा रहेको ४० लाख डोज चिनियाँ सिनोभ्याक खोप अन्ततः नष्ट गरिने भएको छ। उत्पादित मितिदेखि २ वर्षभित्र लगाइसक्नुपर्ने यो खोप २०७८ चैतमा चीन सरकारको अनुदानमा नेपाल भित्रिएको थियो, तर हालसम्म प्रयोग हुन सकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार, यो खोपको म्याद सन् २०२३ डिसेम्बरमै सकिएको थियो। म्याद गुज्रिएपछि पनि नष्ट गर्न नसकिएकाले खोप हालसम्म केन्द्रीय भण्डारण कक्षमा बेवारिसे अवस्थामा थन्किएको छ।
तत्कालीन समयमा विज्ञहरूले उक्त खोप नेपालमा नल्याउन सुझाव दिएका थिए। तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै चीन सरकारले सहयोगस्वरूप अनुदान दिने घोषणा गरेपछि नेपालले उक्त खोप स्वीकार गर्न दबाब झेल्दै आएको थियो।
खोप नेपाल भित्र्याइएको समयमा धेरै नेपालीले कोभिडविरुद्धको खोप लगाइसकेकाले र यो खोप दोस्रो डोज तथा बुस्टर डोजको रूपमा प्रयोग गर्न नमिल्ने भन्दै विश्व स्वास्थ्य संगठन (ध्ज्इ) ले समेत प्रयोग नगर्न सुझाव दिएको थियो। यसकारण खोप लगाउने व्यक्ति नेपालमा नभएपछि दुई वर्षअघि नै खोप सल्लाहकार समितिले उक्त खोप अन्य देशलाई पठाउन वा चीन फिर्ता गर्न निर्णय गरेको थियो। यद्यपि, खोप उत्पादन गर्ने कम्पनीले समेत खोप फिर्ता लैजाने इच्छा नदेखाएपछि यो बेवारिसे हुन पुगेको हो।
कसरी नष्ट गरिँदैछ खोप?
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाले अब छिट्टै उक्त खोप डिस्पोज गरिने जनाएको छ। आपूर्ति शाखा प्रमुख दयाकृष्ण पन्तका अनुसार, सिनोभ्याक खोप नष्ट गर्नका लागि सबै कार्यविधि बनेर स्वीकृत भइसकेको छ। “सिनोभ्याक खोप नष्ट गर्न सबैखालको कार्यविधि बनेर स्वीकृत भइसकेको छ, अब नष्ट गर्न मिल्ने बाटो खुलेको छ,” पन्तले भने, “यही आर्थिक वर्षभित्र केही खोप नष्ट गरिन्छ होला।”
प्रयोगै नगरी यति ठूलो मात्रामा खोप नष्ट गर्नुपर्ने अवस्था नेपालमा सम्भवतः पहिलोपल्ट आएको हो। यसका लागि सरोकारवालाको सल्लाहमा विभागअन्तर्गतकै वातावरणीय स्वास्थ्य एवं स्वास्थ्यजन्य फोहर व्यवस्थापन शाखासँग समन्वय गरी खोप नष्ट गरिनेछ। धेरै मात्रामा रहेको खोप नष्ट गर्न सुरक्षा निकायको सहभागितामा मुचुल्का उठाई माइन्यूट गरेपछि मात्रै नष्ट गर्न मिल्ने प्रावधान रहेको व्यवस्थापन महाशाखाले जनाएको छ।
उक्त खोप काठमाडौंको कुनै एक ठाउँमा नष्ट गर्ने योजना बनाइएको आपूर्ति शाखाले जनाएको छ। तर, आर्थिक स्रोतको कमीका कारण चालु आर्थिक वर्षमा सबै खोप नष्ट गर्न नसकिने प्रमुख पन्तले बताए। “उक्त खोप काठमाडौँकै कुनै एक ठाउँमा नष्ट गर्ने तयारी छ, तर आर्थिक स्रोत नपुग्दा यही आर्थिक वर्षमा सबै खोप नष्ट गर्न भने सकिन्छ जस्तो छैन,” उनले भने, “त्यसैले केही खोप यही आवमा नष्ट गर्ने र बाँकी रहेको अर्को आवमा गर्ने गरी तयारी गरेका छौँ।” चालु आवमा खोप नष्ट गर्न जम्मा ३ लाख ५० हजार मात्रै बजेट छुट्याइएको छ।
लामो समयसम्म केन्द्रीय भण्डार कक्षमा खोप थन्किएर बस्दा नियमित रूपमा प्रयोग गरिने अन्य खोप भण्डारण गर्न ठाउँ अभाव भएको भन्दै विभागअन्तर्गतको आपूर्ति शाखाले छिटोभन्दा छिटो उक्त खोप नष्ट गर्न चाहेको छ।