
१२ असार, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि मधेस केन्द्रित सात दलीय संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्नेबारे छलफल चलाएको छ। अलग-अलग चुनाव लड्दा जित हासिल गर्न कठिन हुने निष्कर्षसहित सात दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।
लाजिम्पाटको वावा होटेलमा आज (बिहीबार) बसेको मोर्चाको बैठकमा उपनिर्वाचनमा मिलेर जानेबारे प्रारम्भिक छलफल भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए। बैठकमा यसबाहेक मोर्चाको भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजबन्दी रिहाइ र पछिल्ला विकसित घटनाक्रमबारे पनि विचारविमर्श भएको थियो।
उपचुनावमा साझा उम्मेदवार बनाउनेबारे छलफल भए पनि आज कुनै ठोस सहमति भने हुन सकेन। थप छलफलका लागि आइतबार दिउँसो सोही स्थानमा पुनः बैठक बस्ने तय भएको नेता झाले बताए।
बैठकमा सहभागी एक नेताका अनुसार, साझा उम्मेदवारका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनमत पार्टीले दाबी प्रस्तुत गरेका छन्। गत निर्वाचनमा रुपन्देही-३ मा नाउपाले ६ हजार १०, जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ र जनमतले ३ हजार ७३२ समानुपातिक मत प्राप्त गरेका थिए।
ती नेताले भने, “सहकार्य गरेर जाने भन्ने विषयमा छलफल सुरु भएको छ, चार पार्टीले गएको चुनावमा पनि राम्रो मत ल्याएको देखिएको छ। त्यसैले आजको बैठकमा कुरा प्रवेश भयो, सबै दलले आन्तरिक छलफल गरेर आइतबार बस्ने बैठकले टुंग्याउनसक्छ।”
बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक रूपमा तयारी थालिसकेकाले आफूहरू पनि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनले गत निर्वाचनमा नाउपाले उम्मेदवारी दिएर सम्मानजनक मत पाएको भन्दै उपनिर्वाचनका लागि रुपन्देहीमा पार्टीको उम्मेदवार करिब तय भइसकेको दाबी प्रस्तुत गरेका थिए।
रुपन्देही-३ सहित गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यको उपनिर्वाचनको मिति यही असार १६ गते तोक्ने तयारी रहेको छ।
आजको बैठकमा जसपा नेपालबाट उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन र रामकुमार शर्मा, नागरिक उन्मुक्तिबाट रेशमलाल चौधरी, लालवीर चौधरी र अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा र सिएन थारु सहभागी थिए।
यस्तै, लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र ज्ञानेन्द्र झा, जनमतबाट अब्दुल खान, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजी यादव र सबिर हुसेन, र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट वृषेश चन्द्र लाल र ब्रजकिशोर सिंहको उपस्थिति थियो।