
१३ असार, काठमाडौँ। नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित आफ्नो केन्द्रीय पार्टी कार्यालय विस्तार गर्ने उद्देश्यले १३ करोड रुपैयाँमा १९ आना ‘एक रोपनी तीन आना तीन पैसा’ जग्गा खरिद गर्ने सम्झौता गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन् । कांग्रेसले कार्यालय परिसरलाई अझ फराकिलो र व्यवस्थित बनाउनका लागि कार्यालयको अगाडिपट्टि रहेको उक्त जग्गा र त्यसमा बनेको तीनतले घर खरिद गर्ने निर्णय गरेको हो। ललितपुर निवासी अमिरमान अमात्य को नाममा रहेको यो जग्गा खरिदका लागि २०८२ असार ११ गते जग्गा धनीसँग सम्झौता भएको थियो। सम्झौतामा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठ को उपस्थिति थियो।
सोही क्रममा ५० लाख रुपैयाँ बैना स्वरूप बुझाई एक वर्षभित्र जग्गा पास गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ। यो खरिदले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई थप विस्तार र सुविधासम्पन्न बनाउने देखिन्छ। यसले पार्टीको प्रशासनिक कार्य र गतिविधिहरूलाई अझ सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।