Logo

१३ असार, वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले संघीयता र समावेशिताका मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा पुर्‍याउन नसकेको स्वीकार गरेका छन्। वीरगन्जमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै खड्काले संघीयता मधेसवादीको र समावेशिता कम्युनिस्टको भन्ने भ्रम जनतामा रहेको बताए।

खड्काले २०६० सालमै पार्टीले संघीयता र समावेशितालाई अंगिकार गरे पनि यसलाई जनतासम्म पुर्‍याउन चुकेको स्वीकार गरे। उनले शेरबहादुर देउवाको नेतृत्वमै कांग्रेसले यी मुद्दालाई अगाडि सारेको स्पष्ट पारे। “हाम्रा मुद्दामा हामी चुक्यौं,” उनले भने, “२०४६ सालदेखि आजसम्म गरेका मुद्दालाई जनताको अगाडि नै प्रशिक्षक प्रशिक्षण आवश्यक छ।”

संविधान संशोधनको आवश्यकतामाथि जोड दिँदै खड्काले जसरी कांग्रेसको नेतृत्वमा संविधान बनेको हो, त्यसैगरी संशोधन पनि कांग्रेसकै नेतृत्वमा हुने बताए। उनले संशोधनको विषयलाई अगाडि बढाउन संयन्त्र बनाएर काम भइरहेको जानकारी दिए। संविधान कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई संशोधनमार्फत सुधार गरिने र समानुपातिक प्रतिनिधित्वलाई बढाइने उनको भनाइ थियो।

उपसभापति खड्काले स्थानीय तह र प्रदेशबीचको समन्वय अभावलाई फुकाएर संविधान संशोधनको औचित्य पुष्टि गर्नका लागि जनतामा जाने बताए।

सोही कार्यक्रममा “कांग्रेसलाई हराउन कांग्रेस नै चाहिन्छ, अरूले हराउन सक्दैन” भन्ने भनाइ पनि व्यक्त भएको थियो, जसले पार्टीभित्रको एकता र आन्तरिक व्यवस्थापनको आवश्यकतामाथि संकेत गर्छ।


सम्बन्धित समाचार