
१३ असार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई प्रतिशोधका आधारमा फसाउन खोजिएको निष्कर्ष निकालेको छ। शुक्रबार आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको शृङ्खलाका रूपमा अध्यक्षमाथि झूटो मुद्दा लगाइएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
प्रवक्ता ज्वालाले पार्टीलाई कमजोर बनाउन षड्यन्त्रमूलक र योजनाबद्ध ढङ्गले मुद्दा लगाइएको उल्लेख गरे। उनले प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले अदालतबाट सफाइ पाउने विश्वास व्यक्त गरे।
बैठकमा अध्यक्ष माधव नेपालले पतञ्जली जग्गाको विषयमा विस्तृत जानकारी गराएका थिए। उनले पार्टी अध्यक्षकै रूपमा काम गर्ने र संसदीय दलको नेताका विषयमा भने संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए।
बैठकले उखु किसान उत्पादकलाई दिँदै आएको अनुदान बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ। त्यस्तै, धान रोपाइँको समयमा मलको अभाव भएकाले यथाशीघ्र मल वितरण गर्न माग गरिएको छ। मनसुनका समयमा हुन सक्ने विपद्लाई ध्यान दिई प्रभावकारी तयारी गर्न पनि सरकारसँग माग गरिएको प्रवक्ता ज्वालाले बताए। सचिवालय बैठक शनिबार पनि जारी रहने उनले जानकारी दिए।