
१३ असार, काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक दोस्रो साता विभिन्न तहमा रिक्त पदपूर्तिका लागि उपनिर्वाचनको तयारी गरिरहेको छ। यसै सन्दर्भमा, आयोगले मतदाता नामावली सङ्कलन अभियान सुरु गरेसँगै तराई–मधेशकेन्द्रित सात दलहरूको सङ्घीय लोकतान्त्रिक मोर्चाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा साझा उम्मेदवारी दिने छलफल थालेको छ।
बिहीबार लाजिम्पाटस्थित होटल बाबामा बसेको मोर्चाको बैठकले रूपन्देही–३ को उपनिर्वाचनलाई मुख्य अजेन्डा बनाएर छलफल गरेको थियो। मोर्चामा आबद्ध सातवटै दलहरू उपनिर्वाचनमा तालमेल गरी साझा उम्मेदवार बनाउने मनस्थितिमा छन्।
रेशम चौधरीको दाबेदारी र मोर्चाको रणनीति
बैठकको अध्यक्षता गरेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले रुपन्देही–३ मा आफ्नो दाबेदारी प्रस्तुत गर्दै नाउपाका उम्मेदवारलाई साझा बनाएर जानुपर्ने राय राखेका थिए। मोर्चाको घटक राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाका अनुसार, “मोर्चाबाट एउटा साझा उम्मेदवार दिऊँ भन्ने माइन्ड सेट (मनस्थिति) सबैको देखिन्छ।“ उनले आइतबार बस्ने अर्को बैठकबाट रूपन्देही–३ मा हुने उपनिर्वाचनको एजेन्डामा निर्णय गरिने बताए।
“मोर्चा बनिसकेपछि साझा उम्मेदवार तोकेर जाँदा ठीक हुन्छ भन्ने कुरा भएको छ,“ नेता झाले थपे, “त्यहीअनुसार सबै पार्टीलाई आ–आफ्नो वस्तुस्थिति के छ बुझ्न भनिएको छ। वस्तुस्थिति बुझेर आइसकेपछि आइतबार टुङ्ग्याउने भनिएको छ।“
रिक्त पद र निर्वाचन आयोगको तयारी
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा रूपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा विजयी भएका थिए। २०८१ चैत १९ मा सांसद बोहराको निधन भएपछि यो पद रिक्त भएको हो। यस्तै, मनाङ–१ (ख) का प्रदेशसभा सदस्य दीपक मनाङे जेल चलान भएपछि त्यहाँको पद पनि रिक्त छ। स्थानीय तहअन्तर्गत एक दर्जनभन्दा बढी वडाध्यक्षका पदहरू पनि रिक्त छन्।
निर्वाचन आयोगले असार ११ गते सूचना जारी गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका व्यक्तिहरूलाई उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गराउन आग्रह गरेको छ। आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेद्वारा हस्ताक्षरित सूचनामा उपनिर्वाचनको मिति घोषणा भएपछि नामावली दर्ता गर्न नपाइने उल्लेख छ।
असार ६ गते कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दै रुपन्देही–३ र मनाङ–१ (ख) मा आगामी कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श गरेका थिए।
दलहरूको पूर्व प्रदर्शन र मोर्चाको शक्ति
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही–३ मा राप्रपाका बोहरा ३६ हजार ७१७ मतसहित विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएका थिए। तत्कालीन समयमा नेकपा एमालेले राप्रपालाई सहयोग गरेको थियो भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेसलाई सघाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जितबहादुर गुप्ता तेली ५ हजार ७६९ मतसहित तेस्रो भएका थिए।
गत निर्वाचनको मत परिणामअनुसार रूपन्देही–३ मा साझा उम्मेदवारी दिने तयारीमा रहेको सङ्घीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूको कुल मत ८ हजारभन्दा बढी देखिन्छ। २०७९ को निर्वाचनमा मोर्चाआवद्ध मध्येका नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारुले ४ हजार ७५१ र जनमत पार्टीका प्रमोदकुमार राउतले ३ हजार ३१७ मत पाएका थिए।
सङ्घीय लोकतान्त्रिक मोर्चाका सदस्यहरूः
तराई–मधेश केन्द्रित विभिन्न सात दलहरूले गत असार १२ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि मोर्चाको घोषणा गरेका थिए। यसमा डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) आबद्ध छन्। यस्तै, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पनि मोर्चाका सदस्य दलहरू हुन्।