
१४ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सदन बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै वेल घेराउ गरिरहेका रास्वपाका सांसदहरू प्रधानमन्त्रीले बोल्न थालेपछि बैठक छाडेर हिँडेका हुन्।
सरकारले रास्वपाको माग अनुसार छानबिन समिति बनाउन अस्वीकार गरेपछि उनीहरूले सदन बहिष्कार गर्ने निर्णयमा पुगेको देखिन्छ। यसअघि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू पनि बैठक छाडेर हिँडिसकेका थिए।
प्रधानमन्त्री ओली अहिले आफ्नो हालैको स्पेन भ्रमणबारे सदनलाई जानकारी गराइरहेका छन्। रास्वपाको बहिस्कारले संसदको कार्यसूचीमा केही असहजता उत्पन्न भएको छ।