
१४ असार, विराटनगर। मोरङको धनपालथान गाउँपालिका–६ बबियामा शनिबार बिहान ५ वर्षीया आत्तिका सरदारको शव फेला परेको छ। प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
प्रहरीका अनुसार, बालिकाको अनुहार, घाँटी र शरीरका अन्य भागमा चोटका डामहरू देखिएका छन्। शनिबार बिहान करिब ३ बजे बुबाआमासँग सुतेकी बालिका अचानक बेपत्ता भएपछि बिहान करिब ५ बजे परिवारले प्रहरीलाई खबर गरेका थिए।
बालिकाको शव घरबाट करिब १०० मिटर टाढा दुर्गा आधारभूत विद्यालयको बाहिर खेतबारीमा भेटिएको थियो। घटनाबारे जानकारी पाएलगत्तै मोरङ प्रहरीले अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख नारायण चिमरियाले बताउनुभयो।
उहाँका अनुसार बालिकाको हत्याको अनुसन्धानका लागि एक जना व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरिएको छ। यद्यपि, बलात्कार भए÷नभएकोबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन हुने चिमरियाले जानकारी दिनुभयो। “अहिले यसै भन्न सकिँदैन, अनुसन्धान भइरहेको छ,“ उहाँले भन्नुभयो, “पोष्टमार्टम रिपोर्टपछि सबै विषय खुल्छ।“
बालिकाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको छ।