Logo

१४ असार,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ। आज बिहान करिब ५ बजे बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबामाथि धारिलो हतियार खुर्पा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, बेतिनीस्थित स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कुमार थापाले वाइबामाथि खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। बाराको निजगढ नगरपालिका–३ सिंगोलका ३५ वर्षीय थापाको प्रहारबाट गम्भीर घाइते भएका वाइबालाई उपचारका लागि बेतिनी स्वास्थ्य चौकीमै लगिएको थियो। तर, आज बिहान करिब ८ बजे उनलाई मृत घोषणा गरिएको डीएसपी अर्यालले बताउनुभयो। वाइबाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ।

घटनापछि थापाले खुर्पा प्रहार गरेर कोही नजिक आए मार्ने धम्की दिँदै गाउँमा आतंक फैलाएका थिए। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय फापरबारीका इञ्चार्ज प्रहरी निरीक्षक पावलसिंह लामाको टोली घटनास्थलमा खटिएको थियो। सोही टोलीले आरोपित थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार