Logo

१५ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र आन्तरिक किचलो चुलिएको छ।

पार्टीकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ भन्दै कडा टिप्पणी गरेकी छिन्। शनिबार लुम्बिनी प्रदेशमा आयोजित युवा संघ नेपालको भेलामा दिएको उनको यो अभिव्यक्तिको पार्टीभित्र ठूलो तरंग पैदा भएको छ।

झाँक्रीले पार्टीमा अहिले ठूलो संकट आएको र अध्यक्षकै विषयमा समस्या देखिएको भन्दै अब पार्टीलाई पुनर्गठन गर्नुपर्नेमा जोड दिइन्। यसका लागि उनले ‘अर्ली महाधिवेशन’ को माग गर्दै भनिन्, ‘कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’

उनले नेतृत्व चयन प्रक्रियामाथि पनि प्रश्न उठाउँदै टीका लगाएर वा मतदाता नामावली सारेर बनेको केन्द्रीय समितिबाट पार्टी बन्न नसक्ने बताइन्। झाँक्रीको भनाइ थियो, ‘हलबाट नेतृत्व छानौँ। तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ। होइन भने तपाईंहरूले यो पार्टी बनाउनुहुन्न।’

यो अभिव्यक्तिको अर्थ माधव नेपालको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने र तत्काल नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्ने रूपमा लिइएको छ। झाँक्रीको यो आक्रामक अभिव्यक्तिले नेकपा (एस) भित्रको आन्तरिक विवाद अब सतहमा आएको स्पष्ट देखिएको छ।


सम्बन्धित समाचार