Logo

प्रतिनिधिसभा बैठक काठमाडौँ, ५ फागुनः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः किरणराज विष्ट÷रासस

१५ असार, काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच चर्को भनाभन भएको छ। अर्यालले खतिवडाले आफूमाथि ‘गम्भीर आरोप’ लगाएको भन्दै ती अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गरेका छन्।

अर्यालको आक्रोश

डीपी अर्यालले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आफूहरू ३३ दिनदेखि आन्दोलित रहेको भन्दै यस विषयलाई विषयान्तर गर्ने गरी सदनमा ‘निराधार आरोप’ लगाइएकोमा आपत्ति जनाए। उनले राजनीतिलाई पेसा बनाएर देश दोहन गर्नेहरूले ‘पेसा–व्यवसाय गरेर खानेहरू’ माथि आरोप लगाएको टिप्पणी गरे।

आफ्नो कम्पनी सुमिरे टुर्स एन्ड ट्राभल्सको नाम अनावश्यक रूपमा जोडिएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरे। “२०४८ सालतिर मन्त्रीको पीए बसेर सरकारी कागजात किर्ते गरेर मान्छे विदेश पठाएवापत हनुमानढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू यही संसदमा छन्,” अर्यालले कटाक्ष गर्दै भने। उनले थपे, “हो म गर्वका साथ भन्छु– सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो। म यही देशमा केही गरेर खाने मान्छे हो, चोरेर खाने मान्छे होइन।” आफूमाथि लागेका आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले निराधार अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसँग रुलिङ माग गरे।

खतिवडाको प्रतिवाद र सभामुखको रुलिङ

अर्यालले बोलिरहँदा रामहरि खतिवडाले समय माग गर्दै उभिए। समय पाएपछि उनले भने, “चोरको खुट्टा काट भन्दा माननीयहरू खुट्टा झिक्नुहुन्छ। हामीले कसैको पनि नाम लिएका थिएनौं। हामीले निष्पक्ष छानबिन गर्नुपर्छ मात्र भनेका थियौं। यस्ता कुरा रेकर्डबाट हटाउनका लागि भनेर भर्खरै बोलेका शब्द रेकर्डबाट हटाइयोस्।”

यसपछि सभामुख देवराज घिमिरेले माननीयहरूलाई जिम्मेवारीका साथ बोल्न र बोलेका कुराप्रति जवाफदेही हुन सम्झाए। उनले गैरसंसदीय भाषा, एक(अर्कालाई आरोप(प्रत्यारोप लगाउने र नाम किटेर बोल्ने कुरालाई रेकर्डबाट हटाउने नियमावली र परम्परा रहेको उल्लेख गरे। सभामुखले प्रत्येक सदस्यलाई आफूले बोलेका कुरा जिम्मेवारीसाथ प्रमाणित हुने गरी बोल्न अनुरोध गरे।

अर्यालको अभिव्यक्तिको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि आपत्ति जनाएका थिए। यो घटनाले संसदभित्र भिजिट भिसा प्रकरणको तापक्रम अझै उच्च रहेको संकेत गरेको छ।


सम्बन्धित समाचार