Logo

१६ असार, काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। यो बैठक आगामी आर्थिक वर्ष २०८२८३ को बजेटमाथि छलफल गर्न केन्द्रित हुनेछ।

गत असार १२ गतेका लागि तोकिएको बैठक विशेष कारणवश स्थगित भई आजका लागि सारिएको थियो। मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले प्रस्तुत गरेको ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेटले सत्तारुढ दलभित्रै ठूलो असन्तुष्टि जन्माएको छ। विशेषगरी नेपाली कांग्रेस र नेकपा एमाले का सांसदहरूले विकास योजनाको वितरण असमान भएको भन्दै चर्को आलोचना गरिरहेका छन्।

नेपाली कांग्रेसका सांसदहरूले बजेटमा सरकारका प्राथमिकता प्राप्त योजनाहरू समावेश नगरिएको गुनासो गरेका छन् भने एमालेभित्र पनि योजना छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै आन्तरिक असन्तोष देखिएको छ। केही सांसदहरूले त बजेट संशोधनको माग गर्दै सार्वजनिक रूपमा असहमतिसमेत जनाइसकेका छन्। कांग्रेस सांसदहरूको असन्तुष्टिका कारण संसदीय दलको बैठकसमेत प्रभावित भएको थियो।

आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेका अनुसार प्रस्तावित बजेटमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ। यद्यपि, बजेटमाथिको छलफल र त्यसपछि आउने संशोधन प्रस्तावहरूलाई समेटेर बैठकहरू निरन्तर सञ्चालन गरिने प्रदेशसभा सचिवालयले जनाएको छ।


सम्बन्धित समाचार